नेपाली युवा टोलीको दोश्रो एकतर्फी जीत
Admin / 2014-11-10 08:28:44
काठमाडौँ : एसिसी यु १९ प्रिमियर लिग क्रिकेटमा नेपालले विजय यात्रा जारी राख्दै आयोजक कुबेतलाई सोमबार २ सय ६२ रनको विशाल अन्तरले पराजित गरेको छ।
टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुद ७ विकेटको क्षतिमा ३ सय रन २५ रनको विशाल योगफल बनायो। ३ सय २६ रनको लक्ष्य पछ्याएको कुबेत २७.४ बलमा मात्र ६३ रनमा अल आउट हुन पुग्यो।
सुशील कँडेलले सात ओभर बलिङमा तीन ओभर मेडन राख्दै मात्र चार रन दिएर एक विकेट लिए। दीपेश श्रेष्ठ, इर्साद अहमद र सुनील धमलाले दुई दुई विकेट लिए।
ब्याटिङमा ८७ रन र बलिङमा एक विकेट लिन सफल आरिफ सेख प्लेयर अफ दि म्याच भए।
यसअघि मध्यक्रममा आएका ब्याट्सम्यान सौरभ खनाल र दिपेन्द्रसिंह ऐेरीको आक्रामक ब्याटिङले नेपालको स्कोर ३ सयभन्दा माथि पुगेको थियो। यी दुईले मात्र ६.५ ओभरमा ९६ रनको साझेदारी गरेका थिए। खनालले ३५ बल खेल्दै चार चौका र दुई छक्काको सहयोगमा ६४ रनको पारी खेले। त्यस्तै ऐेरीले २० बलमा ४८ रन बनाए। उनले दुई चौका र चार छक्का प्रहार गरेका थिए। उनी अर्ध शतक बनाउन दुई रनबाट चुके।
इनिङको सुरुवातमा मात्र ९ रनको स्कोरमा ३ विकेट गुमाएको नेपालका लागि अरिफ सेख र राजु रिजालले इनिङ सम्हालेका थिए। दुवैले ९४ रनको साझेदारी गरे। अरिफले ८७ रनको पारी खेले भने रिजालले ३१ रन बनाए। त्यस्तै सन्दिप सुनार पनि एक रनले अर्ध शतक बनाउनबाट चुके। उनले ५६ बल खेल्दै ६ चौका र एक छक्काको मद्दतले ४९ रन बनाए।
नेपालले ३९ रन एक्स्ट्रा पाएको थियो। कुबेतका बलरले ५० ओभर बलिङमा २७ वाइड र ७ नौ बल फालेका थिए।
कुबेतका लागि साहरुख कुदुसले दुई विकेट लिए। त्यस्तै युसुफ, बासाम, मोहम्मद मिजान अली र मोहम्मद वसीफ मुकादमले एक एक विकेट लिए।
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरबियालाई १ सय ९५ रनको विशाल अन्तरले पराजित गरेको थियो। आइतबार भएको खेलमा नेपालले ३ सय २१ रन बनाएको थियो।
मंगलबार नेपालको रेस्ट डे हो। प्रतियोगिता एसियाका टेस्ट नखेल्ने राष्ट्रहरु नेपाल, अफगानिस्तान, युएई, साउदी अरबिया, मलेसिया र आयोजक कुबेत बीच भएको हो।
प्रतियोगिताको तालिकाअनुसार बुधबार नेपाल मलेसियासँग भिड्नेछ भने शुक्रबार अफगानिस्तानसँग र शनिबार युएईसँग खेल्नेछ।
प्रकाशित मिति: 2014-11-10 08:28:44
प्रतिक्रिया: