राजतन्त्र फर्कन सक्ने चेतावनी
Admin / 2014-06-10 04:27:51
धनगढी - नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले ठूला राजनीतिक दलका नेताको गलत भुमिकाका कारण नेपालमा राजतन्त्रको पुनवर्हाली हुनसक्ने संभावना रहेको बताएका छन्।
भारतमा भएको सत्ता परिवर्तनले यहाँ दलका नेताहरुको भूमिका बदलिन सक्ने भन्दै जनताले चनाखो भएर लोकतन्त्र र गणतन्त्र बचाउन संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
कार्यकर्ता प्रशिक्षणको लागि सुदुर पश्चिम आएका नेता सिंहले मंगलबार धनगढीमा पत्रकार संघको भेटघाटका क्रममा विश्वमा राजतन्त्र खत्तम भएर पुन: आएका उदाहरण उल्लेख गर्दै दलहरुको गलत भूमिकाका कारण नेपालमा पनि राजतन्त्रको पुनर्स्थापना हुने संभावना रहेको बताए।
'संविधानसभा पक्षधर शक्तिको गलत भूमिकाका कारण राजतन्त्रको पुनस्थार्पना हुने संभावना रहेको छ,' उनले भने, 'जनताले संघर्ष गरेर लोकतन्त्र र गणतन्त्रको रक्षा गुर्न आवश्यक छ।'
भारतमा आएको चुनावको परिणामले राजावादीहरु उत्साहित भएको उनले बताए।
नेपालको राजनीति कस्तो बनाउने भन्ने निर्धारण यहीँका जनताले गर्ने भए पनि नरेन्द्र मोदी हिन्दुवादी भएकाले नेपालमा प्रभाव पर्न सक्ने उनको भनाइ छ।
प्रकाशित मिति: 2014-06-10 04:27:51
प्रतिक्रिया: