मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै दल मिलेर अघि बढ्नुपर्छ : सिंह
Admin / 2014-06-25 03:14:23
नेपाल ब्युरो–असार ११, काठमाडौ ।
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक संक्रमणकालको अन्त्य गर्न नसके मुलुक संकटमा फस्ने चेतावनी दिनुभएको छ ।
पाल्पाको तानसेनमा आज आयोजित एक कार्यक्रममा बोलनुहँदै उहाँले राजनीतिक संकट अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै दल मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
मन्त्री सिंहले आफ्नो पार्टी नेपाली कांग्रेस मुलुकमा जारी राजनीतिक संकटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सबै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
साथै उहाँले सकेसम्म अधिकतम् सहमतिमा संविधान जारी गर्ने प्रयास रहने र त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । यद्यपी सहमति हुन नसके प्रक्रियागत ढङगबाट संविधान जारी गर्ने बताउनुभयो । उहाँले विधि र प्रक्रियालाई कसैले पनि अस्विकार गर्न नहुनेमा जोड दिनुभयो ।
मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधानसभाले काम गरिरहेको र माघ ८ भित्रै नयाँ संविधान जारी हुने पनि दोहोर्याउनुभयो। जनताको अपेक्षा विकाससँग जोडिएकाले सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेको सिंहको भनाई छ ।
प्रकाशित मिति: 2014-06-25 03:14:23
प्रतिक्रिया: