नेपालमा अझै कुष्ठरोग निवारण हुन सकेन
Admin / 2014-06-27 03:53:24
नेपाल ब्युरो– असार १३, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अझै कुष्ठरोग निवारण हुन नसकेको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार विसं २०७० मा नेपालमा तीन हजार २ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।
माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुका कारण लाग्ने सो रोग विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुमा बढी देखिने गरेको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । महाशाखाकाको तथ्यांकअनुसार झापा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बर्दिया, पर्सा, बाँके, नवलपरासी, मोरङ, कैलाली, बारा, रुपन्देही र सिराहालगायतका जिल्ला बढी प्रभावित रहेका छन् ।
शरीरको कुनै भागमा नदुख्ने फुस्रो दाग देखापर्नु, अनुहार र कानको नजिक गिर्खाहरु देखिनु, हातखुट्टाका आँलाहरु लाटो, कमजोर, खुम्चिँदै जानु तथा स्नायु तथा हातखुट्टा दुख्नु र पछि गएर अंगभंग हुन सक्नु कुष्ठरोगको लक्षण हुने गरेको चिकित्सकको भनाइ छ ।
यस्तो लक्षण देखिनासाथ नजिकको स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्ररमा उपचार गराउँदा कुष्ठरोग निको हुने महाशाखाको सल्लाह छ ।
प्रकाशित मिति: 2014-06-27 03:53:24
प्रतिक्रिया: