संसदमा पेस गरेको नीति तथा कार्यक्रम आज अनुमोदन हुंदै
Admin / 2014-07-02 02:56:26
नेपाल ब्युरो–असार १८, काठमाडौँ ।
गत असार १५ गते राष्ट्रपतिद्धारा संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ ।
हिजो र आज गरी संसदमा १४ घण्टा छलफल गरेपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो । हिजो ७ घण्टा छलफल भएको थियो भने आज बुधबार पनि ७ घण्टा छलफल हुदैछ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासद्हरुबाट उठेका जिज्ञासाको कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले आजै जवाफ दिनुहुनेछ । हिजो बोल्ने सत्तापक्ष दलका सभासद्ले समेत कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै आलोचना गरेका थिए ।
नीति तथा कार्यक्रम माथि १३ जनाले ५५ बुँदामा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । एक एक गरेर संसोधन प्रस्ताव निर्णयार्थ पेश गरेपछि साँझसम्ममा नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ ।
उता नेपाली कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि समीक्षा जारी छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा सरकारको नीति तथा कार्यक्रमप्रति सदस्यहरुले धारणा राखिरहेको कांग्रेसले जनाएको छ ।
यसअघिको बैठकमा बोल्ने केन्द्रीय सदस्य तथा सभासदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गणेशमान र बीपीसँग जोडिएका राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरेका थिए ।
गरिबसँग विश्वेश्वर, गणेशमान शान्ति अभियान जस्ता महत्वपूर्ण कार्यक्रम नसमेटेको भनेर अधिकांस सभासदहरुले गुनासो गरेका हुन् । बैठकमा सभासदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैंया विनियोजन गर्न चर्को दवाव दिएका छन् ।
प्रकाशित मिति: 2014-07-02 02:56:26
प्रतिक्रिया: