एमालेको नवौँ महाधिवेशन सकियो
Admin / 2014-07-17 08:38:00
नेपाल ब्युरो–साउन १,काठमाडौँ ।
नेकपा एमालेको नवौँ महाधिवेशनको आज औपचारीक समापन गरिएको छ ।
केपी शर्मा ओलीको नेतृत्वमा १४ पदाधिकारी र १ सय ५१ केन्द्रीय सदस्य निर्वाचित गरेर यो महाधिवेशन सम्पन्न भएको हो । पार्टी मुख्यालय बल्खुमा भएको समापन कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको औपचारिक घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।
आजको कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई विधिवत रुपमा पदभार हस्तान्तरण गर्नुभएको छ । झण्डै दुई दसकपछि एमालेको मूल नेतृत्व हस्तानान्तरण भएको हो ।
कार्यक्रममा एमालेका शीर्ष नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने जिम्मेवार नयाँ नेतृत्वको काँधमा आएको भन्दै सबै नेता तथा कार्यकर्ताले सहयोग गर्नुपर्ने बताएका थिए । असार १९ गते शुरु भएको एमालेको नवौं महाधिवेशन औपचारिकरुपमा आज समापन गरिएको हो ।
स्पष्ट दुई समूह भएर चुनाव लडेको एमालेको पदाधिकारीमा माधवकुमार नेपाल समूह र ओली समूहको बराबरी ७ / ७ जना आएका छन् भने केन्द्रीय सदस्यहरुमा ओली पक्षको बहुमत देखिएको छ ।
यसअघि पटक पटक ओलीले नेतृत्व हस्तान्तरणलाई मुख्य मुद्दाको रुपमा अघि सार्दै आउनुभएका थियो ।
दुई सातासम्म राजधानीमा चलेको सत्तासाझेदार दल नेकपा एमालेको नवौं महाधिवेशनमा चार करोडभन्दा बढी खर्च भएको छ ।
महाधिवेशन पूर्वनिर्धारित तालिकाभन्दा झण्डै एक हप्ता लम्बिएकोले पहिले अनुमान गरिएभन्दा बढी खर्च भएको महाधिवेशन व्यवस्थापन अन्तर्गत आर्थिक उपसमितिले जानकारी दिएको छ ।
दुई हप्तासम्म चलेको यो महाधिवेशन अहिलेसम्मकै लामो महाधिवेशन हो ।
प्रकाशित मिति: 2014-07-17 08:38:00
प्रतिक्रिया: