एमाओवादीभित्र पार्टीको पदाधिकारीसहित संरचना विघटन गर्ने तयारी
Admin / 2014-08-27 07:31:03
नेपाल ब्युरो– भदौ ११, काठमाडौ ।
एकीकृत नेकपा माओवादीले पार्टीको पदाधिकारीसहित संरचनालाई विघटन गर्ने तयारी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा शीर्ष नेताहरुले केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने प्रस्ताव राखेका छन् । एक वर्षभित्र महाधिवेशन गर्ने गरी असोज १ गते बस्ने बैठकले केन्द्रिय समितिलाई आयोजक समिति बनाउने एक नेताले जानकारी गराउनुभयो ।
त्यसपछि पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो स्वतः विघटन हुनेछ । वैशाखमा राष्ट्रिय सम्मेलन गरेको माओवादीले मध्य जेठमा पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गरेको थियो ।
राष्ट्रिय सम्मेलनसँगै अनसन्तुष्ट भट्टराई पक्षले भने चुनाव बहिस्कार गरेको थियो । बहिस्कारका बीच जिताइएका भट्टराई पक्षका नेताहरु बैठकमा अनुपस्थित भएपछि विवादित निकायलाई स्थगित गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुले महाधिवेशन आयोजक समिति गठनसँगै एकता प्रक्रियामा रहेका बैद्य माओवादी, मातृका यादवको माओवादी र मणि थापाको पार्टीलाई पनि एकता प्रक्रियामा ल्याउन प्रयास गर्ने बताएका छन् ।
प्रकाशित मिति: 2014-08-27 07:31:03
प्रतिक्रिया: