उद्धारका लागि नेपाली टोली आज इराक जाने
Admin / 2014-07-01 04:02:12
नेपाल ब्युरो असार १७,काठमाडौ ।
इराकमा रहेका नेपालीको उद्धारका लागि नेपाली टोली आज इराक जाने भएको छ ।
इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनाली सरकारले दिएको जिम्मेवारी सम्हाल्न आज त्यसतर्फ जान लाग्नुभएको हो । इराकमा सरकारी र विद्रोही सुन्नी लडाकुबीच द्धन्द चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न केही दिनअघि परराष्ट्रमन्त्रालयले मैनालीलाई विशेष प्रतिनिधि नियुक्त गरेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालका अनुसार मैनालीले इराकमा नेपाली, मित्र राष्ट्रका राजदूत र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिसँग भेटी नेपाली कामदारको उद्धार सहज र छिटो बनाउने विषयमा अध्ययन गर्नेछन् । त्यसैको आधारमा उद्धार प्रक्रिया अघि बढ्नेछ ।
विशेष प्रतिनिधि मैनालीले इराकसँग सीमा जोडिएको कुवेतस्थित नेपाली दूतावासलाई मुकाम बनाई काम गर्नेछन् । थप जनशक्ति आवश्यक परे कुवेतस्थित नेपाली दूतावासका प्रतिनिधिलाई इराकमा उद्धारका लागि लान पाउनेछन् ।
प्रवक्ता धितालका अनुसार मैनालीले इराकमा रहेका नेपालीसँग भेटघाट गरेर उनीहरुलाई आवश्यक परेको सहयोग पहिचान गर्नेछन् ।
प्रकाशित मिति: 2014-07-01 04:02:12
प्रतिक्रिया: