स्थानीय तहमा एकल जातीय संरचना बनाउन सकिने-एमाले
Admin / 2014-07-01 05:55:31
१७ असार, काठमाडौं ।
स्थानीय निकायहरु बलियो नबनाइ संघीयतामा जानुको अर्थ नहुने भन्दै एमालेले स्थानीय तहमा एकल जातीय आधारमा पनि संरचना बनाउन सकिने जनाएको छ । प
नेकपा एमालेले राज्य पुन:संरचनापछि बन्ने नयाँ नेपालमा जम्मा ९ सय ७६ ओटा स्थानीय सरकारका इकाइहरु रहने प्रस्ताव गरेको छ । हालका गाविसहरुको संख्यालाई घटाउने एमालेको प्रस्ताव छ ।
एमाले स्थानीय विकास तथा भौतिक संरचना बिभागले पार्टीको आधिकारिक धारणाका लागि तयार पारेको प्रस्तावमा राजधानी उपत्यकाका तीन जिल्लालाई समेटेर काठमाडौं उपत्यका मेट्रो सिटी बनाउने उल्लेख छ । मंगलवार एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बिभागका प्रमुख नेत्रप्रसाद पन्थीले पहिचानका ५ र सामर्थ्य ४ आधार सहित राज्य पुनःसंरचना गर्नुपर्ने धारणा व्यक्त गरे ।
एमालेले गाविसको नाम हटाएर गाउँपालिका बनाउने र हाल ३ हजार ९ सय संख्यामा रहेका गाविस घटाएर ६ सय ४४ गाउपालिका बनाउने प्रस्ताव अघि सारेको छ । त्यस्तै ९५ उपनगरपालिका, २ सय १७ नगरपालिका, १७ उपमहानगरपालिका र ३ महानगरपालिका बनाउने प्रस्ताव एमालेले गरेको छ ।पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले बिभागले तयार पारेको दस्तावेज एमालेको स्थानीय निकाय सम्बन्धी आधिकारिक धारणा हुने बताए ।
प्रकाशित मिति: 2014-07-01 05:55:31
प्रतिक्रिया: