गुरु पूर्णिमा आज मनाइदै
Admin / 2014-07-12 05:41:01
नेपाल ब्युरो–असार २८, काठमाडौँ ।
असार शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।
यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको उहाँले जानकारी गराउनुभयो ।
अहिले विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्थामा अध्यापनरत शिक्षकलाई गुरु पूर्णिमाको दिन उक्त शैक्षिक संस्थाका विद्यार्थीहरूले भव्य कार्यक्रम आयोजना गरी गुरुका रूपमा सम्मान गर्ने प्रचलन रहिआएको छ ।
गुरु पूर्णिमा कै अवसरमा गुरुहरूको सम्मानका लागि शनिबार विभिन्न सरकारी तथा निजी विद्यालय र क्याम्पसमा विद्यार्थीको संयोजनमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
प्रकाशित मिति: 2014-07-12 05:41:01
प्रतिक्रिया: