काठमाडौं- कात्तिक ३० गतेदेखि कीर्तिपुरमा
हुने भनिएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय अधिवेशन फेरि अनिश्चितकालका लागि
स्थगित भएको छ। अधिवेशन सम्पन्न गर्न पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा
रहेको निर्देशन समितिको बिहीबार बसेको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
पटक-पटक मिति घोषणा भएर पनि विगत ८ वर्षदेखि
नेविसंघको अधिवेशन हुन सकेको छैन। आसन्न सार्क शिखर सम्मेलन, विभिन्न जिल्ला तथा क्याम्पसमा रहेको प्रतिनिधि
विवाद, अधिवेशनका
लागि गर्नुपर्ने आन्तरिक तयारीलगायत विविध कारण देखाउँदै निर्देशन समितिले अधिवेशन
स्थगित गरेको नेविसंघले जनाएको छ।
पटक-पटक अधिवेशन स्थगित हुनुले संगठनमा
रहेका विद्यार्थी नेतालाई लज्जित र दुखी बनाएको नेविसंघ केन्द्रीय सदस्य तथा अधिवेशन प्रचार-प्रसार
संयोजक मोतिलाल भण्डारीले जानकारी दिए। ‘हामीले केही सामान्य कुरा बाहेक सबै तयारी
सकिसकेका थियौं,’ उनले
भने, ‘तर, तयारी पूरा नभएको भन्दै अधिवेशन स्थगित
गरिनुले हामीलाई दुखित बनाएको छ।’
यसले अधिवेशन तयारी समितिको नैतिकतामाथि
पनि प्रश्न उठेकोले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा विद्यार्थी नेताहरुबीच छलफल भइरहेको
संयोजक भण्डारीले जानकारी दिए।